enu 2th


     

बहर के हो ?

लेखक : करूण थापा

बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ ।

संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण) बनेका हुन्छन् । हामी नेपाली लेख्नका लागि देवनागरी लिपिको प्रयोग गर्छौं । देवनागरी लिपिमा वर्ण २ प्रकारका छन्ः

१. स्वर
२. व्यञ्जन
१. स्वरः     
----------
जुन वर्णका उच्चारण स्वतन्त्र उच्चारण गरिन्छ र जसको उच्चारणका लागि अन्य वर्णको सहयोग लिनु पर्दैन ।
- स्वर वर्णका उदाहरणः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ
उच्चारणका समयको हिसाबले स्वरमा तीन प्रकारमा बाँडिएकोछः
क. ह्रश्व स्वरः कम समय लाग्ने स्वरहरु - अ, इ, उ, ऋ (लघु)
ख. दीर्घ स्वरः लामो समय लाग्ने स्वरहरु - आ, ई, ऊ, ए, ऐ, ओ, औ (गुरु)
ग. प्लुत स्वरः टाढाको व्यक्तिलाई बोलाईंदा प्रयोग हुने स्वर

२. व्यञ्जनः    
--------------
जुन वर्णका पूर्ण उच्चारणका लागि स्वरको सहायता लिनुपर्छ यस्ता वर्णलाई व्यञ्जन भनिन्छ । व्यञ्जनको उच्चारणको लागि स्वरको सहायता चाहिन्छ नत्र तिनलाई उच्चारण गर्न सकिन्न ।
    यी व्यञ्जन निम्न प्रकारका हुन्छन्ः
    क. स्पर्शः यी वर्णहरु पाँच भागमा विभाजित छन् जसमा पाँच पाँच व्यञ्जन छन्ः
        कवर्गः क् ख् ग् घ् ड़्
        चवर्गः च् छ् ज् झ् ञ्
        टवर्गः ट् ठ् ड् ढ् ण्
        तवर्गः त् थ् द् ध् न्
        पवर्गः प् फ् ब् भ् म्
    ख. अंतःस्थ:    य् र् ल् व्
    ग. ऊष्म : श् ष् स् ह्
    घ. सयुंक्त व्यंजनः क्ष, त्र, ज्ञ
        - यी व्यञ्जहरुलाई पनि वर्णमालामा गनिए पनि यी तीन अक्षरहरु क्रमशः
        क्ष=क्+ष / ज्ञ=ज्+ञ / त्र=त्+र
मात्राः
 ------
* मात्रा १: माथि वर्णन गरिएका लघु स्वर र लघु स्वर लागेका व्यञ्जनहरुको मात्रा - १
(अ, इ, उ, ऋ, क, कि, कु, कृ)

* मात्रा २: माथि वर्णन गरिएका दीर्घ स्वर र दीर्घ स्वर लागेका व्यञ्जनहरुको मात्रा - २
(आ, ई, ऊ, ए, ऐ, ओ, औ, का, की, के, को, कौ)

* मात्रा २: कुनै पनि संयुक्त अक्षर भएका अगाडिका स्वर या व्यञ्जनको मात्रा - २
जस्तैः     
'अङ्क' मा 'अङ्' - २
'मन्त्र' मा 'मन्' - २    

मात्राका गणनाका उदाहरणहरुः
कलम = क + ल + म = १ + १ + १ लेख्दा यस्तो भए पनि गजलमा बोलीका आधारमा गणना गरिने भएकाले बोल्दाः
कलम = क + लम् = १ + २   
गमला = ग + म + ला = १ + १ + २
कालो ‍= का + लो = २ ‌+ २
भोलि = भो + लि = २ + १
काम = काम् = २
शान्ति = शान् + ति = २ ‌+ १
पूर्व = पूर् + व = २ ‌+ १

मात्रा गणना बारे विस्तृत अभ्यास अर्को पाठमा गराइनेछ ।
Stress:
 ----------
नेपाली तथा अन्य सँस्कृतबाट आएका भाषामा लामो र छोटो स्वरका आधारमा उच्चारण गरिन्छ भने Latin बाट आएका भाषाहरु जस्तै अंग्रेजी आदिमा stress अर्थात् जोडका आधारमा उच्चारण हुने गर्दछ । यसैले अंग्रेजी भाषामा बहर या छन्द लामो र छोटो स्वरको आधारमा भन्दा पनि stress को आधारमा गरिन्छ । यसैले अंग्रेजी भाषामा बहरका गुञ्जाइस कम हुन्छ । अंग्रेजीमा लेखिएका गजलहरु बहरमा हुनु नपर्ने अर्को कारण ती पूर्वीय शाश्त्रीय संगीतमा संगीतबद्ध गरेर कमै गाइन्छ ।

यसर्थ पूर्वीय काव्यको छन्द र लयको सीधा लक्ष्य भनेकै पूर्वीय शाश्त्रीय संगीत हो र यसैकारण छन्द बहर र शाश्त्रीय संगीतको नजीकको सम्बन्ध छ ।

छन्द / बहर के हो ?
-----------------------
गजल एक गेय विधा हो र यसलाई  Lyrical poem (गेय कविता) पनि भनिन्छ भनेर सबैले बुझिसक्नुभएकोछ । Lyrical poem (गेय कविता) भएको हुनाले गाइनका लागि यसका लागि निश्चित लयको खाँचो हुन्छ । जब हामी गाउने कुरा गर्छौं, यसमा लय या तालको खुबै ठूलो भूमिका हुने गर्दछ । संगीतमा ताल र लय भनेको निश्चित समयमा निश्चित ध्वनिको पुनरावृत्ति हुने अवस्था हो । काव्यमा लय या ताल छोटा स्वर र लामा स्वरका शब्दहरुको निश्चित समयमा निश्चित पुनरावृत्ति हो भनेर बुझिन्छ । यही छोटा र लामा स्वर अर्थात् लघु र गुरुको निश्चित समयमा हुने पुनरावृत्तिको अवस्थालाई लय भनिन्छ । तर सबै लयहरु कर्णप्रिय हुन्छन् भन्ने छैन । यसैकारण संगीतमा धेरै तालहरु हुँदा हुँदै पनि केही तालहरु मात्र प्रचलित भए जस्तै काव्यमा पनि केही निश्चित तरीकाले बनेका लयहरुको समूहमा रचित काव्य लयमा वाचन गर्दा सुन्दर लाग्छन् र संगीतमा पनि सुन्दर लाग्छन् । तिनै निश्चित तरिकामा बाँधिएका लयका समूहलाई नै हामी बहर या छन्द भनिन्छ ।
छन्दशाश्त्रलाई उर्दूमा अरुज र अंग्रेजीमा prosody भनिन्छ । छन्दलाई उर्दूमा बहर तथा अँग्रेजीमा meter भनिन्छ । 
केही उदाहरणहरु
-------------------
छन्द
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
भाका, भू--ल, दया,-- क्षमा र -- ममता, -- सन्तोष -- जान्दैन -- त्यो,
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
इन्द्रै बि--न्ति गरुन् -- झुकेर -- पदमा -- त्यो बिन्ति -- मान्दैन -- त्यो,
- लेखनाथ पौडेल

बहर
२२१२ - २२१२ // २२१२- २२१२
खोली बग्यो - यो आँसुको // पानी भयो - भन्नै पर्योा ।
२२१२ - २२१२ // २२१२- २२१२
छाती दुख्यो - मर्ने गरी // बानी भयो - भन्नै पर्योा ।
- करुण थापा

यी समूहलाई कसले निर्माण गर्यो  भन्ने प्रश्न पनि उठ्छ । यी छन्द र बहरहरु काव्य र संगीतज्ञाताहरुबाट नै निर्माण भएका हुन् । जसरी अन्य शाश्त्र जस्तै आयुर्वेद, संगीतशाश्त्र छन् जुन हामी सबैले मानेकाछौं । यस्तै काव्यका यी छन्दहरु पनि ती ज्ञाताहरुबाट नै निर्माण गरिएकाहुन् । जसरी आयुर्वेद तथा संगीतशाश्त्रलाई वैज्ञानिक युगले नकार्न सकेकोछैन, त्यसै गरी छन्द र बहर पनि विज्ञानले नकारेको अवस्था छैन । यसर्थ गजल काव्यको पनि सीधा सम्पर्क संगीतशाश्त्रसँग बनाउनका लागि बहर र छन्दको निर्माण भएकोहो । यी शाश्त्रमा बहस गर्नु पर्ने र गजल बहरमा लेखिने परम्परामा औंला ठड्याउनु पर्ने कुनै कारण देखिंदैन । यदि काव्यशाश्त्रमा बहर चाहिंदैन भन्छौं भने संगीतमा पनि सरगम र संगीतशाश्त्र चाहिंदैन या आयुर्वेद चाहिंदैन भन्नु बराबर हो ।

त, निश्चित समयमा निश्चित लघु स्वर र निश्चित गुरु स्वरको बनावट जुन शाश्त्रका ज्ञाताहरुबाट प्रतिपादन गरिएकाछन्, तिनको प्रयोग गजलमा गर्नुले गजललाई लयमा वाचन गर्न सजिलो, संगीतवद्ध गर्न सजिलो, गाउन सजिलो तथा कोमल र मीठो बनाउने कुरामा दुई मत हुन नहुने पक्का छ ।

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर
शब्दका मात्रा या वजन (उर्दू वज्न)
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।

हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् ।

ल्याटिन जहाँबाट अँग्रेजी भाषा आएकोछ त्यहाँ पनि यो व्यवस्था छ जसमा mora भनेको मात्रा हुन्छ र १ mora(लघु) short syllable तथा २ mora लाई गुरु या long syllable मानिन्छ । तीन मात्राको अर्थात् १ mora(short syllable लघु) र २ mora (long syllable गुरु) सँयुक्त मात्रालाई trochee भनिन्छ । यसै गरी २ गुरु (४ mora) को समूहलाई spondee भनिन्छ ।

चार मात्राका ल्याटिन छन्दका रुपहरुः 
Dactyl : 211
Anapest : 112
Spondee : 22
Proceleusmaticus : 1111

यी जस्तै अन्य विभिन्न रुप छन् र ल्याटिनमा यी माथिका 1 या 2 का सट्टा यिनलाई उच्चारण गर्दा लाग्ने समयको आधारमा सीधै संगीतका नोटेसनमा यिनलाई लेखिन्छ ।

यसैकारण छन्दशाश्त्र, अरुज या prosody जसले जहाँ जे जे भने पनि,  यिनका रुपहरु र नियमहरु केही भिन्न भए पनि आधारभूत कुराहरुमा सबैमा समानता पाइन्छ । यी छन्दशाश्त्र या अरुज या prosody को एकै लक्ष्य हो काव्यलाई गेय बनाउनु ।

यसलाई यहीं छोडेर लघु १ र गुरु २ लेखेर अब हामी अघि बढ्छौं । हामी छन्दमा भन्दा पनि बढी बहरमा केन्द्रित हुनेछौं किनकि गजलमा छन्द भन्दा पनि बहरको प्रयोग हुनुपर्छ ।

शब्दको मात्रा या वजन निर्धारण
हामी यो पाठमा विभिन्न शब्दहरुका मात्रा विभाजन या वजन निर्धारण बारेमा अझै गहिराईमा छलफल गर्नेछौं ।
पहिलो पाठमा छुट्याइका लघु र गुरु या १ या २ मात्राका वर्णहरुलाई लिएर कुनै पनि शब्दको वजन या मात्रा निर्धारित गर्न सकिन्छ । कुनै पनि शब्दको वजन त्यो शब्दको मात्राको जोड गरेपछि आउँछ । कुनै पनि शब्दको वजन कति हुन्छ भनेर अब हामी यहाँ केही उदाहरणका साथ अभ्यास गर्छौं ।

पहिला बहरमा मात्रा गणनाका साधारण नियममा हामी अभ्यस्त हुनाका लागि केही नियमहरु यहाँ राख्न चाहन्छौं । यहाँ भएका नियम बाहेक पनि केही उपनियमहरु छन् जसको चर्चा पछि बिस्तारमा गरिनेछ ।
बहरमा मात्राहरुको निर्धारण लिखित भन्दा पनि शुद्ध उच्चारण गर्दा सुनिने आवाजका आधारमा गरिन्छ । पिङ्गल छन्दमा भने लिखितको महत्व पनि त्यतिकै देखिन्छ । यसैले पिङ्गल छन्दमा लिखितमा खुट्टा काटेर त्यो अक्षर आधा हो भनिरहनुपर्छ भने बहरमा खुट्टा काटेर लेखिन जरुरी हुँदैन ।
बहर = एक दिन नारद सत्यलोक
छन्द = एक् दिन् नारद् सत्यलोक्

हुन त छन्द र बहरका नियममा समानता देखिन्छन् तर हामी बहरमा बढी अब केन्द्रित हुने भएकाले अब बहरकै हिसाबले नियमहरु पनि लेखिंदै गइनेछ । मात्रा गणना गर्ने पद्धतिलाई उर्दूमा तक्तीअ भनिन्छ । अबदेखि तक्तीअ शब्द नै प्रयोग गरिनेछ ।
नियमहरुः
क. अ इ उ ऋ तथा चन्द्रविन्दु आफैमा या व्यञ्जनको पछि आउँदा लघु हुन्छ = १ मात्रा
   उदाहरणः अ, इ, उ, ऋ, क, कि, कु, नि, अँ, कुँ आदि

ख. आ ई ऊ ए ऐ ओ औ अं आफैमा या व्यञ्जनको पछि आउँदा गुरु हुन्छ = २ मात्रा
   उदाहरणः  आ ई ऊ ए ऐ ओ औ अं, नै, लौ, पे, सं आदि

अन्य उदाहरणहरुः
सम्झिने = सम् + झि + ने = २ १ २
मन  = मन् = २
बिर्सुँ  = बिर् + सुँ = २ १
कसोरी  = क + सो + री ‍= १ २ २
जाने =  जा + ने = २ २
निष्ठुरी  = निष् + ठु + री = २ १ २
समय = स + म + य = १ १ १
कम = कम = २
पलपल = पल् + पल = २ २

यी तलका शब्दलाई तक्तीअ गरेर वजन पत्ता लाउनुस्ः
पत्यार
उज्यालो
पवित्र
पत्र
न्वारान
तिम्रो
तिमीलाई
चन्द्रमा
चन्द्रमुखी
पुनर्जन्म
जिन्दगी
स्थायी
बसोबास
कक्षा
प्रज्ञा
कष्ट
सुमधुर
जून
हुन
कृष्ण
आनन्द
सँक्रान्ति
यक्ष
क्षितिज
निमन्त्रणा
साहित्य
मान्यवर
शब्दका बराबर वजन भएमा हामी तिनलाई हमवज्न या सममात्री शब्द भनिन्छ । सममात्रा भन्नाले बराबर मात्रा मात्र बुझ्नु भने हुँदैन । सममात्रा भन्नाले शब्दमा आउने लघु गुरुको निश्चित क्रममा हुन जरुरी हुन्छ । उदाहरणका लागिः
बन्धकी = २१२ = ५
कामना = २१२ ‍= ५
दुवैमा २१२ मात्रा आएको हुँदा हामी यिनलाई हमवज्न या सममात्री भन्न सक्छौं । जब किः
मसाला = १२२ = ५
तम्बाकु = २२१ = ५

हमवज्न या सममात्री हैनन् । किनकि दुवैको वजन ५ भए पनि क्रममा भने १२२ र २२१ छन् जुन समान छैनन् ।
नेपालीमा सममात्री भन्नुभन्दा पनि नयाँ शब्द सहमात्री भन्न म रुचाउँछु । तर मैले कुनै शब्द प्रतिपादन गरेर चलेको शब्दलाई यसको मूल्य घटाउन चाहेको हैन ।

रुक्न (गण) के हो ?
रुक्नलाई नेपालीमा हामी गण भन्छौं । उर्दूमा रुक्नको अर्थ खम्बा या pillar हो । मतलब बहरका खम्बा नै रुक्न हो । लघु र गुरु (उर्दूमा लाम - लघु र गाफ - गुरु) का निश्चित क्रममा भएका समूहलाई नै रुक्न भनिन्छ । बहरमा लाम र गाफका मात्राको एक एकाईलाई जुज भनिन्छ । जुजको निश्चित क्रमलाई रुक्न भनिन्छ । जुज निम्न प्रकारका हुन्छन्ः

सबाब-ए-खफीफ > २
सबाब-ए-साकी > ११
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२
फासिला-ए-कुबरा > १११२

यी माथिका जुजहरु (बहुबचन अज्जा) का समूह भए पनि उर्दू बहरमा यी तलका अज्जामात्र प्रयोग गर्न उचित मानिएकोछः
सबाब-ए-खफीफ > २
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२ 
रुक्न यिनै जुजहरु या अज्जाका समूहका निश्चित मात्राक्रमलाई भनिन्छ । रुक्नको बहुवचन या समूहलाई अरकान भनिन्छ । जुजका मिश्रणबाट अनगिन्ति रुक्न र अनगिन्ति अरकान निस्कन सक्छन् । तर ७ आधारभूत रुक्नलाई पहिचान दिइएकोछ बहरमा । पछि पछि अन्य रुक्नका प्रयोग बारे छलफल गरिनेछ ।
रुक्नका नामहरु अरबी भाषाबाट आएका तिनका कुनै माने हुँदैन । हरेक रुक्नलाई अफाइल (अर्थात् फूट) मा बाँडिएका हुन्छन् । एक रुक्नमा ३, ४ या ५ अफाइल हुन्छन् ।

उदाहरणका लागि
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट)
यसको वजन = २ ‌+ १ + २ ‍= ५ मात्रा
अफाइल या फूटका आधारमा रुक्नहरुको वर्गिकरण र तिनका नामहरुः

३ अफाइल जसलाई खामसी अर्कान पनि भनिन्छ
-----------------------------------------------------
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट) = २ १ २
फऊलुन = फ ‌+ ऊ + लुन् = ३ अफाइल (फूट) = १ २ २

४ अफाइल
-----------
मफाईलुन = मु + फा ‌+ ई + लुन् = ४ अफाइल (फूट) = १२२२
फाइलातुन = फा ‌+ इ + ला + तुन् = ४ अफाइल (फूट) = २१२२
मुस्तफ्इलुन = मु्स् ‌+ तफ् + इ + लुन् = ४ अफाइल (फूट) =२२१२

यसमा पछि फाईलातु अर्थात २२२१ को पनि रुक्न थपिएकोछ जुन जायज देखिन्छ ।

५ अफाइल
-----------
मुतफाइलुन = मु + त ‌+ फा + इ + लुन् = ५ अफाइल (फूट) = ११२१२
मफाइलतुन = म + फा ‌+ इ + ल + तुन् = ५ अफाइल (फूट) = १२११२

माथिका ४ र ५ अफाइल भएका रुक्न या अरकानलाई सबाई अरकान पनि भनिन्छ ।
रुक्नको शुद्ध रुप र परिवर्तित रुपका अनुसार २ रुप छन्ः

१. सालिम रुक्न - शुद्ध र मूल रुक्न
२. मुजाहिफ रुक्न - परिवर्तित तथा उप रुक्न 
हामी यहाँ शुद्ध रुक्नको नाम र तिनका रुपहरु राख्दैछौं ।

फऊलुन = मुतकारिब = १२२
फाइलुन् = मुतदारिक = २१२
मफाईलुन = हजज = १२२२
फाइलातुन = रमल = २१२२
मुस्तफ्इलुन = रजज = २२१२
मुतफाइलुन = कामिल = ११२१२
मफाइलतुन = वाफिर = १२११२

यी आधारभूत अरकानको पुनरावृत्तिबाट बहर बनेको हुन्छ । यी अरकान कतिपटक पुनरावृत्ति भएकाछन् तिनको अनुरुप भिन्न नाम हुन सक्छन् । यिनका शुद्ध रुप मात्र प्रयोग भए भने सालिम रुप हुन्छन् ।

जस्तैः
क) १२२२ - १२२२ - १२२२ - १२२२ = ४ पुनरावृत्ति = मुसम्मन
ख) १२२२ - १२२२ - १२२२ = ३ पुनरावृत्ति = मुसद्दस
ग) १२२२ - १२२२ = २ पुनरावृत्ति = मुरब्बा
ग) १२२२ = मुसना

अब आजको लागि एक तक्तीअ गर्ने विधि तथा बहरको नाम थाहा पाउने विधिः
मानौं एक गजल लियौं-
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती
- प्रभाती किरण

अब यसलाई तक्तीअ गरौं । यो गजलको रुक्न पत्ता लगाउनु पहिलो काम हुन्छ । तल तक्तीअ गरिएको एक उदाहरणः

१-२-२--२ १-२-२-२,   १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती

१-२-२-२  १-२-२-२,  १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती

यो गजलमा रुक्न छः
मफाईलुन x ४= १२२२ x ४

माथि तालिकामा हेरियो भने यो हजजको शुद्ध रुप अर्थात् सालिम रुप हो । यसैले यसलाई बहरको नाम भन्नु पर्दा "हजज सालिम" भन्न सकिन्छ । अनि ४ पटक पुनरावृत्ति भएको भनेर जनाउनका लागि हामी "मुसम्मन" पनि जोड्छौं । यसो गर्दा बहरको नाम भयोः "हजज मुसम्मन सालिम" ।

यही नियम अन्य बहरमा पनि प्रयोग हुन्छ । अन्य बहरका नाम र तिनका वजन तथा मुजाहिफ रुक्न हामी अर्को पाठमा समावेश गर्दै जानेछौं । साथै तक्तीअ गर्ने अन्य विधिहरुका उपनियमहरु पनि राख्दै जानेछौं । 
आजलाई यत्ति ।

Thank you 
Article Written By Karun Thapa

(स्रोत : Chisapaninepal )
ADD THE FACEBOOK WIDGET CODE HERE